त्यो झरिको दिन
अषाढको महिना थियो, निरन्तर रूपमा झरि रहेको झरी रोकिने कुनै नाम लिइरहेको थिएन। एकनास रूखका पातमा बज्रिँदै भुइँमा झरिरहेको पानीलाई नियाल्दै रूखको हाँगामा बसिरहेको चरो घरी-घरी आकाशलाई नियाल्ने गर्थ्यो। "उफ् यो पानी कहिले रोकिन्छ?, बस्दा बस्दा खुट्टा भाँचिन लागिसक्यो" भन्दै एक्लै पागल जस्तै बरबराइरहेको थियो। उता झरी, भने आफ्नै हठमा अडिक रही बर्सिरहेकी थिइन।
यत्तिकैमा उसले अर्को हाँगामा केही आवाज सुन्यो, के को आवाज रहेछ भनेर जान्न आवाज आएको दिशामा नजर डुलायो। निथ्रुक्क भिजेकी एउटा चरी अर्को हाँगामा आइ बसेकी थिइ। एक्लै बस्दा बस्दा पागल हुन लागेको चरो अनपेक्छित साथ पाउँदा भने भत्र-भित्रै गदगद थियो। पहिले त ऊ नदेखेझैँ गरेर आफ्नो ध्यान बर्सिरहेको पानीमा केन्द्रित गर्दै थियो। आफूले आफ्नो उपस्थिति नकार्न सकिन्छ तर अरूको उपस्थितिलाई कसरी नकार्न सकिन्छ र?? आँखा चोरेर ऊ त्यो चरीलाई नियाल्न थाल्यो जो उसको उपस्थितिको पूर्णरुपमा सजक थिइन्। निथ्रुक्क रुझेकी उनी आफूलाई न्यानो बनाउन विभिन्न क्रियाकलाप गर्दैथिइन्। कहिले पखेटा फिजाउँथिन, कहिले आफ्नो जीउ जोडले हल्लाएर पानीबाट छुट्कारा पाउने कोसिसमा थिइन्। घरी-घरी आफ्नो मुखले जीउमा ठुङ्गे झैँ गर्थिन्। यी सब क्रियाकलापहरू त्यो चरो एक टकले हेरिरहेथ्यो। त्यो चरीले नि ऊ भएको ठाउँतिर हेर्यो, यसरी दुईजानाको आँखा जुध्यो।
"कहिले भिजेको चरी देखेको छैन र??" भन्ने भावको कर्के हेराइ देखेर, त्यो चरोलाई नि हिनताको आभास दिलायो। आफ्नो गल्तिको महसुस गर्दै मुन्टो निहुराइ ऊ अर्को दिशातर्फ फर्कियो। त्यही बीचमा उसले त्यो चरीलाई नजिकबाट नियालेको थियो। निथ्रुक्क रुझेकी उनी आफूलाई न्यानो बनाउन गरिरहेको क्रियाकलपले उसलाई आकार्षित गरेको थियो। अनायसै जुधेको ती आँखाको सुन्दरतामा ऊ कता-कता डुबिसकेको थियो। त्यो कर्के हेराइमा पनि ऊ आफ्नोपनको आभास पाइरहेको थियो।
यसो हरेको मात्र त हो नि, त्यो चरीको कर्के हेराइले उसले कुनियत राखि त्यो चरीको अस्मितामा नै आँखा लाएझैँ भान गरायो। यो सब सम्झेर मनमनै हँस्यो, जसको एक खित्का उस्को मुखबाट नि फुस्कियो। उसको यो व्यवहार त्यो चरीले देखिन्। त्यो चरीतर्फ के हेरेको मात्र थियो, ऊ त्याहाँबाट भुर्रर उडेर गइन्। चरोलाई अचम्म लाग्यो। यी सब घट्नाक्रमको बीचमा निरन्तर झरी रहेकी झरीले विश्राम लिएकी रहेछिन्। चरीलाई नियाल्न व्यस्त रहेको उसले थाहापत्तो पाएन छ, जब यो महसुस भयो उसलाई ऊ नमुस्कुराइ रहन सकेन।
ऊ पनि त्यो रुखबाट उड्यो र आफ्नो घरतर्फ लाग्यो। झरी पश्चातको त्यो जङ्गल मनमोहक बनेको थियो। त्यो निरन्तर वर्षाले वातवरणमा अर्कै रौनक ल्याएको थियो। सूर्य आजको नित्य कर्म सकेर विदाइ हुन लागेको थियो, त्यो क्षण हेर्नु उसको दिनचर्या नै थियो। यी मनमोहक दृश्यमा रमाउने मन भने आज कतै हराएको थियो। मानसपटलमा हर घडि त्यही चरीको आकृति नाचिरहेको थियो।
No comments